काठमाडौँ । थापाथलीमा मध्यरातमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गएराति ११:५३ बजे काठमाडौं महानगरपालिका-११ थापाथलीको राम मन्दिरबाट रोजबर्ड स्कुल जाने पुल नजिक बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल र बा.प्र ०२-०६२ प ९६३१ नम्बरको स्कुटर ठोक्किएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रौतहटको कटहरीया नगरपालिका-२ का २७ वर्षीय चन्द्रमा दासको मृत्यु भएको हो।
दुर्घटनापछि उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो। ट्रमामा आइसियू नभएपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएकोमा राति १:१० बजे चिकित्सकले मृत घोषणा गरेको एसपी थापाले जानकारी दिए।
शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ।
मोटरसाइकल पछाडि सवार कटहरीया-२ कै ३० वर्षीय दिपेन्द्र दासको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको दाहिने आखी भाँउमाथि काटेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
स्कुटर चालक चितवनको कालिका नगरपालिका-५ घर भई शंखमुल बस्ने २३ वर्षीय सुदीप श्रेष्ठ प्रहरी वृत्त सिंहदरबारको नियन्त्रणमा रहेको र पछाडि सवार सर्लाहीको मलंगवा नगरपालिका-७ घर भइ शंखमुल बस्ने ३७ वर्षीय मोहन शाह उपचारपश्चात डिस्चार्ज भइसकेको डिएसपी थापाले जानकारी दिए।