काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू बिग्रिएकाले दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले बाटोको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट खुलाउन नसकिने बताए ।
अध्यक्ष सिटौलाले टिकट दिनुभन्दा पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु आफूहरूको मुख्य प्राथमिकता रहेको बताए। ‘पोहोर साल चौतर्फी दबाब आएपछि टिकट खोलियो, तर बाटो बिग्रिँदा यात्रुहरू तीन दिनसम्म बाटामै बस्नुपर्ने बाध्यता भयो। यो वर्ष त्यस्तो परिस्थिति नआओस् भनेर हामी सतर्क छौँ,’ उनले भने।
विगतमा जस्तो एकैपटक १०/१५ दिन अगाडिको अग्रिम टिकट खोल्ने सम्भावना यसपटक नरहेको अध्यक्ष सिटौलाले बताए। बाटोको अवस्था हेरेर २ वा ३ दिनको मात्र अग्रिम टिकट दिँदै जाने विकल्पमा महासंघभित्र र सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए। यातायात व्यवस्था विभागसँगको आगामी बैठकपछि मात्रै टिकट बुकिङको अन्तिम निर्णय हुनेछ।
बाढीपहिरोले सडकहरू छेदविच्छेद बनाएको र पहिरोको जोखिम कायमै रहेकाले यसपटकको दशैंमा अत्यावश्यक नभई यात्रा नगर्न उनले यात्रुहरूलाई आग्रह गरेका छन्। ‘यसपटक प्राकृतिक प्रकोपको अवस्था डरलाग्दो छ। बाटोमा कुन बेला के हुन्छ भन्ने टुङ्गो छैन। त्यसैले अत्यावश्यक काम नभएका यात्रुहरूलाई जोखिम मोलेर यात्रा नगर्न र जहाँ हुनुहुन्छ, त्यहीँ दशैं मनाउन मेरो सुझाव छ,’ सिटौलाले भने।