चितवन । केही दिनदेखि भएको लगातार वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ ।
चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ । धादिङ खण्ड भने अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । इच्छाकामना गाउँपालिका ४ धारापानीमा सडक थप भासिएपछि हाल साना सवारीसाधन मात्र एकतर्फी सञ्चालन भइरहेका छन् ।
निरन्तरको वर्षाका कारण सडक भासिने क्रम बढेपछि उक्त क्षेत्रमा सवारीसाधन आवागमन जोखिमपूर्ण बनेको छ । त्यस्तै, इच्छाकामना गाउँपालिका ५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
पहिरोमा लगातार ढुंगा खसिरहेकाले सडकबाट पहिरो पन्छाउनसमेत समस्या भइरहेको छ । सडक भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन जोखिमपूर्ण बनेको छ । सम्बन्धित निकायले सडकको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ ।
