काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९ वर्ष पूरा गरी ८० औँ वर्षमा प्रवेश गरेको छ। सो शुभ-अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनी, ग्राहक, नियमन निकाय, कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा सरोकार वालाहरूलाई आभार व्यक्त गरेको छ।
नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा ‘नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेड’को रूपमा स्थापित भई वि.सं. २००६ मा उद्योग परिषदबाट इजाजत प्राप्त गरेको यस कम्पनीको नाम वि.सं. २०१६ मा ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड’ र वि.सं. २०४८ मा ‘नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गरिएको थियो।
कम्पनीले बीमा ऐन २०७९, बीमा नियमावली २०८१ तथा कम्पनी ऐन २०६३ बमोजिम निरन्तर निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। हाल कम्पनीमा २९८ जना कर्मचारीहरू कार्यरत रहेका छन् भने देशभर ५४ वटा शाखा कार्यालयहरू मार्फत सेवा सञ्चालन भइरहेको छ।
कम्पनीले प्रचलित ऐन, कानुन तथा नियामक निकायहरूका नीति, निर्देशनअनुसार आगामी दिनमा अझ उत्कृष्ट र प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ।