काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि वाईसीएल नेपालले ६ सयभन्दा बढी युवा परिचालन गरेको छ ।
भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि वाईसीएलका सदस्यहरू खोजी, उद्धार तथा राहत वितरणमा खटिएका हुन्।
वाईसीएलले ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ अभियानअन्तर्गत प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराइरहेको जनाएको छ। बाढीका कारण खाना पकाउने ग्यासको अभाव भएपछि प्रभावित परिवारलाई ग्यास सिलिन्डर, खाद्यान्न तथा कपडालगायतका सामग्री वितरण गरिएको छ।

रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलसँग समन्वय गरी चारवटा सवारीसाधनमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइएको वाईसीएलले जनाएको छ। बेत्रावती बजारमा प्रभावितलाई भाँडाकुँडा पनि वितरण गरिएको छ।
त्यस्तै, धादिङका हाटीगौंडा र डुप्चीलगायत सडक तथा पुल बाढीले बगाएर यातायात सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा समेत वाईसीएलको टोली पुगेको छ। टोलीले त्यहाँका बालबालिका तथा प्रभावित परिवारलाई स्टेशनरी सामग्री र जुत्तालगायतका सामग्री वितरण गरेको छ।
वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार विपद्को समयमा राजनीतिक झण्डा वा ब्यानरभन्दा मानवीय सेवामा केन्द्रित भएर स्वयंसेवक परिचालन गरिएको छ। उद्धारसँगै प्रभावित परिवारको चुलो बाल्ने र संकटमा परेका नागरिकमा आशा जगाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको उनले बताएका छन्।
वाईसीएलले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिने जनाएको छ।