काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै आधा झण्ड झुकाएर सम्मान गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको थियो ।
सरकारले शोक मनाउँदै आधा झण्डा झुकाउने निर्णय गरेसँगै बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा इम्पेरियल कलेज अफ इञ्जिनियरिङले पनि श्रद्धाञ्जली सभा आयोजना गर्दै आधा दिन कलेज बिदा गरी सम्मान गरेको छ ।
सभामा कलेजका सीईओ ई. डा. खेमराज जोशीसहित कलेज व्यवस्थापनका शिक्षक र कर्मचारी तथा विद्यार्थीको सहभागिता थियो । गत १० गतेको भीषण बाढीमा सर्वसाधरणसँगै ठूलो मात्रामा जलविद्युत आयोजनामा खटिएका इञ्जिनियरको मृत्य भएको भन्दै कलेजले दु:ख व्यक्त गरेको थियो । बाढीमा परी झण्डै चार हजारभन्दा बढी अझै सम्पर्कविहीन भएका छन् ।
बाढीमा हजारौँ घर, झण्डै चार दर्जन पुल र आधा दर्जनभन्दा बढी जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको थियो । प्रारम्भिक सरकारी तथ्यांकअनुसार भौतिक तथा पूर्वाधार क्षति करिब ३८७.५४ अर्ब पुगेको छ । ठूलो संख्यामा इन्जिनियरिङ क्षेत्रमा मानवीय क्षति भएको कलेजले आंकलन गरेको छ ।