काठमाडौं । नेपाली कांग्रेसले पूर्वनिर्धारित वडा अधिवेशनको मिति पछाडि धकेल्ने भएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले २ भदौका लागि तय गरिएको वडा अधिवेशन पछि सारिने बताएका हुन् ।
उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा अधिवेशन सुरु गर्न प्राविधिक समस्या नभए पनि वडा अधिवेशन पछि सारिने बताएका छन् । राजनीतिक कारणले सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नभएकाहरूलाई समेट्ने अन्तिम प्रयास भइरहेकाले वडा अधिवेशन सारिन लागिएको पौडेलको भनाइ छ ।
‘अधिवेशन सुरु गर्न प्राविधिक समस्या छैन । सदस्यता अद्यावधिक गर्न पटक पटक समय दिएर इच्छुक सबैलाई समेटिएको छ,’ उनले भनेका छन्, ‘तर, राजनीतिक कारणले प्रक्रियामा सहभागी नभएकाहरूलाई अझै समेट्न सकिन्छ कि भनेर अन्तिम प्रयास गर्न खोजेका छौं । त्यसैले भदौ २ गतेका लागि तोकिएको वडा अधिवेशन सार्छौं ।’
कांग्रेसले गत १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट २ भदौमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।