काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले विद्यालयहरूमा विद्यार्थीहरूको कपाल जबर्जस्ती नकाट्न अनुरोध गरेको छ । परिषद्ले एक सूचना जारी गर्दै विद्यार्थीको कपाल नकाट्न अनुरोध गरेको हो ।
यस्तो गैरकानुनी कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको भन्दै परिषद्ले शिक्षा नियमावली अनुसार कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा नकारात्मक असर पार्ने गतिविधि गर्न नपाइने प्रस्ट पारेको छ।
परिषद्का अनुसार बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर वा विद्यालयमा शारीरिक वा मानसिक दण्ड दिने र अमर्यादित व्यवहार गर्ने कार्यलाई बाल हिंसा तथा कसुर मानेको छ।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज जारी गरेको विज्ञप्तिमा पोसाक, साजसज्जा वा शुल्क नतिरेको बहानामा विद्यार्थीलाई अपमानित गर्ने, भेदभाव गर्ने वा परीक्षाबाट वञ्चित गराउने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । जबर्जस्ती कपाल काट्ने, विद्यार्थीको शारीरिक स्वरूप वा मेकअपका आधारमा हेप्ने तथा घाम वा प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने जस्ता व्यवहार पूर्णतः निषेध गर्न परिषद्ले अपिल गरेको छ ।
बालबालिकाको आत्मसम्मान, मर्यादा र मानसिक स्वास्थ्यको रक्षा गर्दै बाल अधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि आचारसंहिता बनाएर लागू गर्न सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई परिषद्ले अनुरोध गरेको छ।
