काठमाडौं । अभिनेत्री दिपाश्री निरौला ‘६ माया छपक्कै’ को छायांकनमा व्यस्त रहेका बेला ढाड दुख्ने समस्या सुरु भयो । उनी स्वास्थ्य जाँचका लागि माइतीघरस्थित न्यूरो अस्पताल पुगिन् । प्राय बिरामी हुँदा दीपाश्री अन्नपूर्ण न्यूरोमा नै जँचाउने गर्थिन् । त्यसबेला पनि सामान्य समस्या होला भन्ने ठानेर गएकी थिइन् । तर समस्या सोचेभन्दा गम्भीर देखियो । स्वास्थ्य परीक्षणमा ब्रेन ट्यूमर देखिएपछि चिकित्सकले तत्कालै उपचारमा लाग्नुपर्ने बताए ।
परिवार र निकटस्थहरूले भारत जान सुझाव दिए । यद्यपि दीपाश्रीले अन्नपूर्णका न्यूरो सर्जन डा। वसन्त पन्तकै भर गरिन् । उनीबाटै शल्यक्रिया गराउने निधो गरिन् ।तर, अस्पताल भर्ना हुनुअघि दीपश्रीले फटाफट आफ्ना थुप्रै कामहरू सकिन् । उनी गम्भीर बिरामी भएको धेरैलाई थाहै थिएन । यो बीचमै उनले ‘छ माया छपक्कै’ को एउटा गीतको सुटिङ भ्याइन् । नीता ढुंगानाको चलचित्रको डबिङ गरिन् । कमेडी नाइट्सको पनि सुटिङमा सहभागी भइन् । अनि बल्ल शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी हुन् ।
उनको शल्यक्रिया सफल भएको छ । सहकर्मी कलाकार दीपकराज गिरीका अनुसार उनलाई जनरल वार्डमा सारिएको छ । डाक्टरले खतरामुक्त भनेको उनले जानकारी दिए ।