सरकारले एन्फामाथि कुनै हस्तक्षेप गरेको छैन : मन्त्री पोखरेल

0 Shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन् । बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले एन्फाभित्र व्यापक भ्रष्टाचार र अनियमितताका उजुरी परेका छानबिन सुरु गरेको तर सरकारले कुनै हस्तक्षेप नगरेको बताएका हुन् ।

फिफाले एन्फालाई निलम्बन गरेको विषयमा मन्त्री पोखरेलले विगतमा एन्फामा सरकारी हस्तक्षेप हुँदै आएको भन्दै केवल वर्तमान सरकारको हस्तक्षेपको कारण नभएको उल्लेख गरे । उनले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षता गठित छानबिन समितिको प्रतिवेदन प्राप्त हुनेबितिकै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने जानकारी दिए । फिफा तथा एएफसीका पदाधिकारीहरूलाई पनि वार्ताका लागि आमन्त्रण गरिसकिएको उनले बताए ।

मन्त्री पोखरेलले अब बन्ने एन्फामा राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गरिने र यसलाई भ्रष्टाचारको अखडा हुन नदिने स्पष्ट पारे । आगामी दिनमा एन्फाको नेतृत्वमा नेपाली फुटबलमा योगदान पुर्‍याएका पूर्व खेलाडीहरू, खेल बुझेका व्यक्तिहरू र वास्तविक फुटबल प्रेमीहरूलाई मात्र समावेश गराइने उनको भनाइ छ ।

फिफा हेर्न एन्फा पदाधिकारीलाई सरकारले रोकेको आरोपमा मन्त्री पोखरेलले घरेलु फुटबलको विकास गर्नुभन्दा पनि विश्वकप हेर्न जान पाउनुलाई मात्र ठुलो ठान्न नहुने बताए ।

सम्बन्धित समाचार