समूह चरणबाटै बाहिरिएपछि उरुग्वेका खेलाडीलाई दण्ड : बुक गरिएको उडान नै रद्द गरियो

0 Shares

काठमाडौँ । फुटबलमा सधैँ मैदानभित्रको मात्रै चर्चा हुँदैन। कहिलेकाहीँ मैदान बाहिरका गतिविधिले पनि चर्को चर्चा पाउने गर्छ।

यस्तै भएको छ, उरुग्वेका खेलाडीको हकमा पनि। दुईपटकको विश्व च्याम्पियन उरुग्वे यसपालि समूह चरणबाटै बाहिरियो। तर यो बहिर्गमन उरुग्वेका खेलाडीले भने फरक मूल्य चुकाउनुपरेको विषयले सामाजिक सञ्जालमा चर्चा पाएको हो।

एजेन्सीहरुका अुनसार समूह चरणबाट बाहिरिएका कारण उरुग्वेका खेलाडीलाई दण्डस्वरुप उनीहरुका लागि बुक गरिएको ‘प्राइभेट फ्लाइट’ नै क्यान्सिल गरिएको हो। जसको कारण समूह चरणबाट बाहिरिएको टोलीका हरेक खेलाडी र स्टाफले मेक्सिकोबाट घर फर्कन आफैँले व्यवस्था गर्नुपरेको बताइएको छ।

खेलबारे समाचार लेख्ने गिभमिस्पोर्ट्सका अनुसार खराब प्रदर्शन गर्दै बाहिरिएपछि यस्तो निर्णय भएको हो। तर यसको चर्चा अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हेडलाइन बनेका छन्।

समूह चरणबाट १६ राष्ट्र घर फर्किँदा बलियो मानिएका स्कटल्यान्ड र टर्कीसँगै बाहिरिनेमा उरुग्वे पनि एक हो। साउदी अरेबिया र केप भर्डेसँगको बराबरीपछि युरोपेली च्याम्पियन स्पेनविरुद्ध उरुग्वेलाई स्पष्ट जितको आवश्यकता थियो।

तर सो खेल पनि गुमाउँदा उरुग्वे समूह चरणबाट नै घर फर्किनुपर्ने बाध्यात्मक अवस्था आयोे। यो खेलअघि टोलीका मुख्य प्रशिक्षक मार्सेलो बिएल्सा र खेलाडीबीच भएको मतभेदको पनि थप बल पाएको छ।

समूह चरणको तेस्रो स्थानमा रहँदै उरुग्वे जारी विश्वकपबाट बाहिरिनेमा पहिलो दक्षिण अमेरिकी राष्ट्र बन्यो। योसँगै मुख्य प्रशिक्षकले टोली छाड्ने संकेत पनि गरिसकेका छन्।

सम्बन्धित समाचार