काठमाडौं । मुक्तिनाथ मन्दिर जान नसक्ने अशक्त, ज्येष्ठ नागरिक र उकालो उक्लन नसक्ने आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीको हितलाई ध्यानमा राखी यहाँ ‘घोडचढीसेवा’ सञ्चालनमा आएको छ । झन्डै विलुप्त अवस्थामा पुगेको ‘घोडचढी’ सेवा सञ्चालनमा आएपछि यहाँका युवाले भरपुर रोजगारी मात्र होइन, यहाँस्थित मनाइने घोडपर्वका लागि अनिवार्य चाहिने घोडापालन संस्कृतिको समेत जगेर्ना भएको छ ।
यसअघि दर्शनार्थी ओसारपसारका लागि मोटरसाइकल सेवा जोखिमपूर्ण भएकाले सो सेवालाई विस्थापित गरी यहाँका समुदायले ‘घोडचढीसेवा’ पुनः सुरु गरेका हुन् ।मोटरसाइकल सेवालाई विस्थापित गरी ‘घोडचढीसेवा’ सञ्चालनमा आएपछि मुक्तिनाथ रानीपौवा बजारक्षेत्रको व्यवसायमा थप चहलपहल बढेको छ, भने गाउँमा बरालिएका युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । मुक्तिनाथमा ‘घोडचढी’ सेवाबाट पर्यटक र तीर्थयात्रीलाई सशुल्क सेवा दिन थालेपछि संकटमा पर्दै गइरहेका विभिन्न स्थानीय जातका घोडाहरुको संरक्षण हुन थालेका छन् ।
घोडामा चढाएर पर्यटक तीर्थयात्रीलाई मुक्तिनाथ पु¥याउने सेवा सञ्चालनले मुक्तिनाथ क्षेत्रका प्रायःले एक घर एक घोडा पालन सुरु गरेका छन् । पछिल्लो समय मुक्तिनाथ, खिङ्गा, झारकोट र छेङ्गुर गाउँका युवाले घोडाबाट तीर्थयात्री ओसारपोसार गरी राम्रो आम्दानी गर्न थालेका छन् । मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने तीर्थयात्रीको सेवाका लागि चारगाउँका झन्डै एकसयभन्दा बढी घरधुरीले घोडा पालेको मुक्तिनाथ रानीपौँवाका स्थानीय घोडा व्यवसायी हर्क गुरुङले जानकारी दिए ।
मुक्तिनाथ मन्दिरबाट मन्दिरको ढोकासम्म तीर्थयात्री पुर्याएको नेपालीलाई चारसय र भारतीय पर्यटकलाई भारु चारसय शुल्क लिने गरिएको घोडा व्यवसायी गुरुङले बताए । घोडा व्यवसायी हर्क गुरुङका अनुसार मुक्तिनाथस्थित चारगाँउमा कुरिया दर्ता भएका स्थानीयले मात्रै घोडाबाट मान्छे तीर्थयात्रीलाई सेवा दिन पाँउने नियम छ ।घोडाबाट तीर्थयात्री ओसार्ने कामका लागि मासिक २० हजारदेखि रु ३० हजारसम्म पारिश्रमिक दिएर काममा खटाइने गरेको उनले बताए। मुक्तिनाथमा रुकुम, रोल्पा, धादिङ र बागलुङलगायतका जिल्लाबाट उल्लेख्य युवाहरू घोडाबाट तीर्थयात्री ओसार्ने काममा व्यस्त छन्।
गुरुङका अनुसार स्थानीयलाई पनि वैकल्पिक आम्दानी, घोडाहरुको संरक्षण र जिल्ला बाहिरका युवाहरूलाई समेत रोजगारी प्राप्त भएको सुनाउछन् । मुक्तिनाथमा झन्डै एकसयको सङ्ख्यामा युवाले घोडाबाट तीर्थयात्री पुर्याउने काममा लागेका छन् । सोही युवा समुहले तीर्थयात्रीहरूलाई डोलीमा चढाएर मुक्तिनाथ पु¥याउने सेवा समेत सञ्चालन गरेका छन् । डोलीमा बोकेर तीर्थयात्रीलाई मन्दिर पु¥याएको प्रतिव्यक्ति नेपालीलाई पाँचहजार रुपैयाँ र भारतीय पर्यटकलाई भारु चारहजार शुल्क लिने गरिएको छ ।
मुक्तिनाथमा घोडाबाट तीर्थ गर्ने यात्रीलाई सेवा दिन ‘घोडचढी’ सेवा समिति गठन गरिएको छ । समितिमा आबद्ध सबै घोडाहरु प्रत्येक दिन बिहान ७ बजे समितिमा हाजिर गराइसक्नुपर्छ । समितिमा हाजिर भएपछि मात्रै तीर्थयात्री बोक्न पाइने नियम छ । तोकिएको समय भित्र घोडासहित उपस्थित नभएमा उक्त व्यक्तिले त्यस दिन घोडामा तीर्थयात्री बोक्न नपाइने प्रावधान छ । दैनिक रुपमा कसैले घटीबढी नगरी दिनभरि घोडाबाट तीर्थयात्री ओसारेको आम्दानी बराबर भाग लगाएर बाडिन्छ ।
मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले घोडाबाट तीर्थयात्री ओसार÷पोसार गर्ने सेवाले वारागुङ मुक्तिक्षेत्रमा घोडाहरूको संरक्षण भईरहेको बताए ‘एकातिर मुक्तिनाथ उक्लिन नसक्ने पर्यटकका लागि सेवा भएको र अर्कोतर्फ वैकल्पिक रोजगारीका साथै परम्परागत घोडाहरूको संरक्षण भएको छ । पर्यटन व्यवसायी गुरुङले भने ।’
‘मुक्तिनाथमा घोडाले तीर्थयात्री ओसार्ने विकल्प नभएको भए यहाँ परम्परागत घोडाहरु लोप हुने अवस्था रहन्थ्यो, अहिले चाडपर्वमा घोडाहरु जुटाउन कुनै समस्या छैन । उनले भने। मुस्ताङमा यार्तुङ, तिजी, धज्याङलगायतका विभिन्न चाडपर्वमा अनिवार्य घोडाको आवश्यक पर्ने गर्छ । हिमाली संस्कृति र मौलिकतामा यहाँका घोडाहरूको महत्व र योगदान निकै ठूलो हुने गरेको जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गरे।
घोडाबिनाको चाडपर्व कल्पना गर्न नसकिने भएकाले हिमाली क्षेत्रको संस्कृति जोगाउन घोडाको आवश्यकता पर्ने अध्यक्ष ठकुरीले बताए। अध्यक्ष गुरुङले यहाँ सदियौँदेखि पालिएका घोडाहरु सडकको विकासले चुनौती थपिएको भए पनि घोडाबाट तीर्थयात्री बोक्ने सेवाले स्थानीयलाई घोडापाल्न प्रेरित गरेको छ भने।