काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार दाङमा आयोजित अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो।
प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, डा. राजकुमार सुबेदी, गणेश पौडेल, मधु अर्याल, प्रतिनिधिसभा सदस्य मञ्जु भुसाल तथा अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिका अनुसार ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाबाट आएका ८ सय ४३ जना प्रदेश प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिए।
निर्वाचन समितिले आवश्यक तयारी पूरा गरिसकेकाले मतदान प्रक्रिया सुरु गरिने जनाएको छ।