ढुसीजन्य रोगले धानको बेर्नामा क्षति

0 Shares

काठमाडौं । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।

स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताए । ‘बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो’, उनले भने, ‘पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताए । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उनले जानकारी दिए । ‘नगरको प्रमुख खाद्यान्न बाली धान हो‘, बुढाऐरले भने, ‘बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।’

रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उनले सुझाव दिए। सात९सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उनको भनाइ छ ।

रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गरे । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उनले बताए । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।

सम्बन्धित समाचार