काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा मागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।
‘मिति २०८३÷२÷.१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले साम्सदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ अध्यक्ष साम्पाङले फेसबुकमा सार्वजनिक गरेको पत्रमा भनिएको छ।
प्रधानमन्त्री बालेनले प्रतिनिधि सभा बैठकमा भारतसँगको सीमानाबारे त्यस्तो अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद अवरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने र उनले संसदमै उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका थिए।
बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले यसबारेमा संसदबाट जबाफ दिएपछि विपक्षी दलहरूको अवरोध हटेको थियो।