बजेट बनाउँदा कमजोरी भएको हुन सक्ने अर्थमन्त्रीले स्वीकार गरे

0 Shares

काठमाडौंं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट बनाउँदा तयारीगत कमीकमजोरी भएको स्वीकारेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आज (सोमबार) काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८३÷०८४ को बजेटः ‘नीति संवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले छोटो अवधिमा नयाँ बजेट ल्याउनु परेकाले केही प्राविधिक कमजोरीहरू भएको हुन सक्ने बताएका हुन्।

तर, यो बजेटले आगामी ५ वर्षको आर्थिक विकासको स्पष्ट रोडम्याप कोरेको उनले दाबी गरे। ‘५ वर्षमा देशलाई कुन दिशामा लैजाने र कस्ता आर्थिक सुधारहरू गर्ने भन्ने विषयमा यो सरकारको कार्ययोजना र संकल्प एकदमै स्पष्ट छ,’ उनले भने, ‘हामीले पाँच वटा बजेटको समष्टिगत परिकल्पना र दीर्घकालीन मार्गचित्र कोरेर यो पहिलो वर्षको बजेट ल्याएका हौँ।’

यसको कार्यान्वयनमा देखिने व्यवहारिक जटिलता, करका दरमा भएका अन्योल वा अन्य प्राविधिक कमीकमजोरीलाई निजी क्षेत्रको सुझावका आधारमा सुधार्दै र परिमार्जन गर्दै अघि बढ्न सरकार पूर्णरूपमा खुला रहेको उनले बताए।

अर्थमन्त्री डा. वाग्लेले देशको वित्तीय अवस्था र बजेट निर्माणको जटिल बाध्यात्मक परिस्थितिका बीच बजेट तयार गरेको बताए। ‘हाम्रो कुल विनियोजनमध्ये करिब ७० प्रतिशत हिस्सा त सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी, कर्मचारीको पारिश्रमिक, निवृत्तिभरण र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्व र निश्चित शीर्षकहरूमा खर्च हुन्छ,’ उनले भने, ‘हामीसँग नयाँ सोच, नयाँ आयोजना र आर्थिक उत्प्रेरणाका कार्यक्रमहरू ल्याउन जम्मा ३० प्रतिशत मात्र स्रोत बाँकी रहन्छ। यही सीमित जगमा उभिएर हामीले निजी क्षेत्रलाई उत्साहित बनाउने र उत्पादन बढाउने प्रयास गरेका छौँ।’

निजी क्षेत्र आर्थिक विकासको मुख्य संवाहक भएकाले सरकारको उद्देश्य व्यवसायलाई निरुत्साहित गर्ने नभई यसलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने भएको उनको भनाइ छ। ‘बजारमा देखिएको शिथिलता तोड्न र संकुचनमा परेको निजी क्षेत्रको मनोबल उच्च बनाउन मौद्रिक नीति र वित्त नीतिबीच चुस्त समन्वय गरेर अगाडि बढिनेछ,’ मन्त्री वाग्लेले भने, ‘म सम्पूर्ण उद्योगी साथीहरूलाई ढुक्क भएर लगानी बढाउन आग्रह गर्दछु, तपाईंहरूका जायज व्यावसायिक अप्ठ्यारा फुकाउन म मन्त्रालयमा २४सै घण्टा संवाद गर्न तयार छु।’

सम्बन्धित समाचार