इन्द्रचोकमा दिउँसै पेस्तोल देखाएर सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्ने ३ युवक पक्राउ

0 Shares

काठमाडौँको इन्द्रचोक, भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ।

यही वैशाख १७ गते दिउँसै पेस्तोल देखाउँदै लुटपाटको प्रयास भएपछि नैना एन्ड इशान ज्वेलरीकी सञ्चालक बबिता रौनियार प्रतिकार गरेकी थिइन्। त्यसपछि उनीहरू भागेका थिए।

घटनाको अनुसन्धान र खोजतालसको क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विकेश राजवाहक र अरुण भुजेल छन्।

‘विवेक राजबाहक र अरुण भुजेललाई हाम्रो टोलीले पक्राउ गरेको हो,’ एसपी भट्टराईले नेपालखबरसँग भने, ‘उनीहरू यसअघि भएका विभिन्न आपराधिक घटनामा पनि संलग्न भएको देखिन्छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले र विवेक र अरुणलाई काठमाडौँ परिसरको टोलीले पक्राउ गरेको हो। अरुण भुजेलको साथबाट घटनास्थलमा प्रयोग गरिएको पेस्तोलसमेत बरामद भएको छ।

महर्जनले लुटपाटको क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर हुलियासमेत परिवर्तन गरेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार