काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन् ।अध्यक्ष नियुक्तिका लागि आवेदन दिने सोमबार अन्तिम दिन थियो । अर्थ मन्त्रालयका अनुसार बोर्ड अध्यक्ष पदका लागि कुल ४७ जनाको आवेदन परेको हो ।
सेबोनको अध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र, अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुक उम्मेदवारलाई व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको थियो ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।
समितिले सूचना जारी गर्दै सात दिनको समय दिएर आवेदन माग गरेको थियो । सो अवधिभित्र इच्छुक उम्मेदवारहरूले व्यक्तिगत विवरण र स्वघोषणा पेस गरेका छन् भने कार्ययोजना भने माग नगरिएकोले कसैले पनि बुझाएका छैनन् ।
धितोपत्र ऐन, २०६३ अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, पुँजी बजार विकास, अर्थ, वित्त, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्ने व्यवस्था छ ।
साथै, नेपाल नागरिकता, उच्च नैतिक चरित्र र सम्बन्धित क्षेत्रमा व्यावसायिक अनुभव अनिवार्य गरिएको छ ।समितिले प्राप्त आवेदनमध्येबाट तीन जनाको नाम सिफारिस गर्नेछ र त्यसपछि सरकारले तीमध्ये एक जनालाई सेबोन अध्यक्षमा नियुक्त गर्नेछ ।