काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रार छन्। सरकारले विश्वविद्यालय तथा राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।
यस्तो अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिन लागेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले हटाउने संकेत पाएपछि राजीनामा दिएर नैतिकता देखाउन खोजेका हुन् । त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आज आफूहरूले पदबाट राजीनामा दिने तयारी गरेको बताए । हामीले आज राजीनामा दिँदैछौं,’ उनले भने।
उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिनेछन्। त्रिविमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ।
अर्याल २०८२ असार २५ गते उपकुलपति नियुक्त भएका थिए। तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए। २०८० चैतमा त्रिविमा शिक्षाध्यक्ष केसी र रजिस्ट्रारमा रिजाल नियुक्त भएका थिए। उनीहरूलाई त्यसबेला तत्कालीन कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए।