सरकार अध्यादेशबाट चल्न थालेपछि रास्वपामा विवाद

0 Shares

काठमाडौं । रास्वपा सांसद गणेश कार्कीले सरकारले अध्यादेश ल्याउनु बहादुरी नभएको टिप्पणी गरेका छन् । कार्की प्रतिनिधिसभा अन्तर्गत राज्यका निर्देशक सिद्धान्त समितिका सभापति समेत हुन् । सामाजिक सञ्जालमा उनले झन्डै दुई तिहाइ ल्याएको पार्टीका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने कुरा पछि खुल्ने बताएका छन् ।

कार्कीले लेखेका छन् ‘झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु बाध्यता हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । ’ कार्कीले वर्तमान सरकारले संविधानको अक्षरलाई मात्र पालना गरेको तर त्यसको मर्मलाई कुल्चिएको बताएका छन् ।

उनी थप्छन्,‘अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो, तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’ कार्कीले अध्यादेशबारे आफ्नो धारणा माग्दै मेन्सन, म्यासेज आएको भन्दै प्रष्टीकरण दिएका हुन् । उनले यसअघिका सरकारले अध्यादेश ल्याउँदा पनि आफूले प्रश्न गरेको स्मरण गरेका छन् ।

करिब डेढ वर्षअघि कार्कीले संसदमा जवाफदेही हुनुपर्छ भनेर एमाले कांग्रेस सरकार अध्यादेशको बाटोमा हिँडेको टिप्पणी गरेका थिए ।

उनले लेखेका थिए, ‘प्रतिपक्षमा रहेका दलहरू संसदको विशेष अधिवेशन बोलाउने कसरतमा छन् भन्ने सरकार चलाउने एमाले र कांग्रेसलाई थाहा छ । तर, उनीहरू विशेष अधिवेशन गर्‍यो भने संसदमा जवाफदेही हुनुपर्छ भनेर, संसदबाट आफ्नो अधिनायकवाद नागरिकले थाहा पाउँछन् भनेर अध्यादेशको अभ्यास गर्न खोज्दैछन् ।’

यसैबिच अध्यादेशसहित समसामयिक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा रास्वपा सभापति रवि लामिछाने सहित उपलब्ध पार्टीका सांसदहरूबिच छलफल जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा उपलब्ध सांसदहरूसँग सभापति लामिछाने सहित सांसदहरूबिच छलफल भई रहेको एक सांसदले बताए । उनका अनुसार समसामयिक राजनीति, पार्टी, र सरकारका बारेमा छलफल हुनेछ ।

‘सरकारको स्पिडमा मिट गर्नुपर्ने केही सर्टेन कुराहरू छन्’ त्यो कुरालाई मध्यनजर गरेर अध्यादेशमा काम भएको हो’ ती सांसदले भने ।

सम्बन्धित समाचार