रुपन्देही । अवैध शिकारीले जंगलभित्र गोली चलाउँदा एक किशोरको ज्यान गएको छ भने एक किशोरी घाइते भएकी छन्। प्रहरीका अनुसार उनीहरूलाई जंगली जनावर (बँदेल) ठानेर गोली हानिएको हो।
घटना प्युठान जिल्लाको गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा चैत २९ गते राति भएको हो। गोली लागेर गम्भीर घाइते भएका नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियारको उपचारका क्रममा बुटवलस्थित अस्पतालमा चैत ३० गते मृत्यु भएको हो।
उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भएकी छन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न जंगल पुगेका थिए। राति करिब १०:४५ बजे झाडी हल्लिएको र आवाज आएको आधारमा जंगली जनावर ठानी भरुवा बन्दुकबाट गोली चलाइएको थियो। पछि घटनास्थलमा पुग्दा किशोर र किशोरी घाइते अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक परियार आफ्ना साथीसँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त क्षेत्रमा पुगेका थिए र उनले फोनमार्फत किशोरीलाई भेट्न बोलाएका थिए।
घटनापछि प्रहरीले मुख्य आरोपी वीरेन्द्र केसीसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालक रहेका छन्। घटनामा प्रयोग भएका दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको छ।
मृतकका बुबाको जाहेरीका आधारमा पक्राउ परेकामाथि ज्यानसम्बन्धी तथा हातहतियारसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस्ता घटनाहरू नेपालमा यसअघि पनि हुने गरेका छन्, जहाँ शिकारका क्रममा मानिसलाई जनावर ठानेर गोली चलाउने दुर्घटना देखिएका छन्