काठमाडौं । विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झनास्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्यजस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई स्थानीय विद्यार्थीका सिर्जनात्मक हातबाट बनेका बासका सामग्री उपहार प्रदान गरिएको थियो । जानकी माध्यमिक विद्यालय पोखरा– १७ महतगौडामा कक्षा ५ देखि ८ मा अध्ययनरत विद्यार्थीले निर्माण गरेका सामग्री वितरण गरिएको हो ।
विद्यार्थीले तयार पारेका बाँसका पेन होल्डर, ढकियालगायतका सामाग्री वडाध्यक्ष राधिका शाही योगीले नगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याललाई हस्तान्तरण गरे । उक्त सामग्री केवल उपहारमात्र नभई विद्यार्थीको सीप, मेहनत र सिर्जनशीलताको प्रतीक बनेको थियो ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूले परम्परागत उपहारभन्दा फरक, स्थानीय स्रोत र श्रमको प्रयोगबाट बनेका सामग्रीले गहिरो प्रभाव पारेको प्रतिक्रिया दिएका थिए । बजारमा सजिलै पाइने वस्तुभन्दा आफ्नै गाउँ समुदायका बालबालिकाले बनाएका सामग्रीले आत्मीयता र मौलिकताको अनुभूति गराएको उनीहरूको सामुहिक भनाई थियो ।