काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहलाई रास्वपा सभापति रवि लामिछानेले श्रम मन्त्रीलाई हटाउन र स्वास्थ्य मन्त्रीलाई सचेत गराउन पत्र लेखेका छन् ।
रास्वपा केन्द्रीय अनुशासन आयोगको सिफारिसका आधारमा सभापति लामिछानले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् । उनले चैत २५ गते प्रधानमन्त्री शाहलाई पत्र लेख्दै भनेका छन्– ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपककुमार साहले मन्त्रीमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउने कार्य गरेको व्यहोरा पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट देखिएको र आयोगबाट आवश्यक कारबाहीको लागि मिति २०८२ चैत्र २५ गते पत्र प्राप्त भएको जानकारी गराउँद्छु।’
सभापति लामिछानेले त्यही पत्रमा लेखेका छन्– ‘यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको छ।’ उनले पार्टी विधानको धारा ६९ मा रहेको जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था अनुसार श्रम मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेका हुन् ।
त्यस्तै, सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतलाई सचेत गराउन पनि प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् । सभापति लामिछानेले स्वास्थ्य मन्त्री मेहतालाई सचेत गराउनुको कारण पनि श्रममन्त्री साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा सक्रिय गराउनुलाई मुख्य कारण देखाएका छन् ।
सभापति लामिछानेले पत्रमा लेखेका छन्– ‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु।’ पार्टीको केन्द्रीय अनुशासन आयोगले सभापतिसमक्ष गरेको सिफारिसको प्रतिलिपि पनि प्रधानमन्त्री शाहलाई पठाएका छन् ।