काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै स्पष्टीकरण दिएका छन् ।
उनले आफ्नो र परिवारको सम्पत्तिसम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका हुन् ।
देउवाले सामाजिक सञ्जालमार्फत आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने कुरा सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै सम्पत्तिसम्बन्धी विषयमा भ्रामक तथा झुटा प्रचार भएको दाबी गरेका छन् ।
उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको भन्दै आफ्नो जीवन “खुला पुस्तक” जस्तै रहेको उल्लेख गरेका छन् ।
गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री रहँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण गराउँदै वास्तविकता समय क्रमसँगै स्पष्ट हुँदै जाने बताएका छन् ।
यस्तो छ उनको विज्ञप्तिः
आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा।