काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेतृत्वले उपाध्यक्षसमेत रहेका समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’ नाम अघि सारेको छ । तर, इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले अहिलेको आवश्यकता र स्पिरिटअनुसार आफू योग्य रहेको भन्दै दाबेदारी पेश गरेका थिए ।
सुहाङले अडान नछाड्दा निर्णयमा केही ढिलाइ भएको छ । बादलको नाममा सुहाङले सहमती नदिएपछि सर्वसम्मत हुन नसकेको स्रोतले जनाएको छ । सुहाङकै कारण बालदको नाममा सर्वसम्मत हुन सकेको छैन । अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।
बादल तत्कालीन नेकपा माओवादीबाट एमाले प्रवेश गरेका थिए । प्रचण्डका विश्वास पात्र मानिने बादल पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सबैभन्दा नकिक मानिन्छन् । सुहाङ तत्कालीन संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सुवासको निधान भएपछि उनी राजनीतिमा सक्रिय भएका थिए । एमालेमा सबैभन्दा कम उमेरमा निर्वाचित हुने सांसदमा सुहाङ पर्छन् ।
बादल समानुपातिक सांसद भएकाले सुहाङले प्रत्यक्षबाटै निर्वाचित सांसदबाट दलको नेता बनाउन अडान राखेका हुन् ।