काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफूसहित पार्टीले ठूलो पराजित भएसँगै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा यस पटक सर्लाही ४ बाट उम्मेदवार दिएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका डा. अमरेशकुमार सिंहले पराजित गरेका थिए ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले जम्मा ३८ सिट मात्रै प्राप्त गरेको छ । चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ ।