रवि-बालेनप्रति आक्रोशित हुँदै शंकर पोख्रेलले भने: राजनीतिमा नयाँ र पुरानोको निरर्थक बहस भयो

0 Shares

 काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोख्रेलले राजनीतिक पार्टीमा नयाँ र पुरानो पार्टीको बहस निरर्थक भएको बताएका छन् । शुक्रबार राति फेसबुकमा लेख्दै उनले नेपाललाई बंगलादेश जस्तै बनाउन हिँडेकाहरु असफल हुँदै गएपछि पुराना पार्टीलाई हराउन नयाँ मिल्नुपर्छ भन्ने धारणा बनाएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नयाँ र वैकल्पिक शक्तिहरू मिलेर पुराना दललाई धक्का दिन थालेको भन्दै पोख्रेलले पुराना दललाई गाली नगर्न आग्रह गरे । ‘राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुँदैन, त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ,’ उनले भने, ‘नीति र एजेण्डा विहीनहरुलाई नयाँको पगडी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र हो ।’

पोख्रेलको यस्तो छ स्टाटस

वास्तवमा पार्टीहरुको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टी सधैं जीवित र सान्दर्भिक रहन्छन्। त्यसैले लामो इतिहास भएका राजनीतिक दलहरु समेत कहिल्यै ‘पुराना’ हुँदैनन्। किनकी उनीहरु समय अनुसार अद्यावधिक भइरहन्छ । जुन राजनीतिक दल समयअनुकूल चल्न सक्दैनन्, तिनै दलहरु मात्र समाप्त हुन्छन्।नेपाली राजनीतिमा यस्ता दृष्टान्त पर्यप्त छन् ।

तर नेकपा (एमाले) नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो। यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। नेकपा (एमाले)को यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् ।

नेपाली राजनीतिका लागि को नयाँ? रवि, बालेन, हर्क साम्पाङ वा कुलमान? उनीहरु सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसावले परीक्षण भइसकेका पात्र हुन् । जहाँसम्म जेन्जीका नाममा चर्चित बनेको जेन जेड समुहको सन्दर्भ छ, यो कुनै संगठित शक्ति होइन, यो एउटा उमेर समूह मात्र हो । जो सूचना र प्रविधिको विकाससँग हुर्कियो । यो समूहलाई जननिर्वाचित सत्ताका विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पूँजीवादी साम्राज्यवादीहरु बनाएको सोच हो । डिपस्टेटको अवधारणा जननिर्वाचित सत्ता र जनतामा भिजेका नेताहरुलाई कमजोर बनाउनका लागि षडयन्त्रको सिद्धान्तको प्रयोग गरेर कथित कलर रिभ्युलुसनका नाममा विद्रोहको कोशिस गर्ने गरिन्छ । नेपालका सन्दर्भमा जेन्जी अभियानकर्ताहरुले सुरुगरेको प्रदर्शनमा घुषपैठ गराएर त्यही दिशामा अघि वढाउने कोशिस भइरहेको कुरा साँचो हो ।

तर नेपाली समाज र नेपालका नवयुवाहरुको ठुलो हिस्साले छोटो समयमा त्यस षडयन्त्रलाई वुझ्न सफल भए ।भाद्र २३ को प्रदर्शनका अभियानकर्ताहरुनै अहिले षडयन्त्रका विरुद्धको प्रतिवादका लागि नेकपा (एमाले)को नेतृत्वसंग निरन्तर सम्वादमा छन् । वास्तवमा भन्ने हो भने चौतर्फी घेरावन्दीका वावजुत नवयुवाहरुका बीचमा अहिले पनि नेकपा (एमाले) नयाँ भनिनेहरु भन्दा लोकप्रिय छ ।

पछिल्लो समयमा देशविरुद्ध भइरहेका षड्यन्त्रहरूका वारेमा नवयुवाहरुले जतिजति वुझ्न थालेका छन् उनीहरु त्यतिनै नेकपा (एमाले) प्रति प्रतिवद्ध देखिन थालेका छन् । उनीहरुले नेकपा (एमाले) र यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको महसुस गर्न थालेका छन्। पछिल्लो समय पुरानाका विरुद्धमा नयाँहरुलाई जसरी पनि मिलाउने कोशिस त्यसकै परिणाम हो । तर अव त्यसको कुनै सान्दर्भिकता देखिदैन ।

सम्बन्धित समाचार