कांग्रेस नेताहरू बालेनसँगको संवादमा किन गहिरहेका छन् ?

0 Shares

काठमाडौं । फागुन २१ को चुनाव नजिकिएका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सक्रियता बढेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको दुई चरणको वार्ता फलदायी नभएपछि साहले अर्को विकल्प खोजेर नयाँ चरणको छलफल थालेका हुन् ।

उनले युवाहरू, नयाँ राजनीतिक दलका नेतादेखि पुराना र ठूला दलका असन्तुष्ट नेतासँग पनि बाक्लो सम्वाद गरिरहेका छन् ।

बुधबार राति मात्रै ३ घण्टासम्म सल्लाहकार कुमान बेनको घरमा भएको वार्तामा बालेनले नेपाली कांग्रेसका नेतासँग पनि संवाद गरेका छन् ।

बुधबार साँझ ३ घण्टासम्म बेनको कुपण्डोलस्थित घरमा वैकल्पिक शक्ति निर्माणका लागि भएको वार्तामा नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी पनि सहभागी भएका थिए ।

उक्त छलफलमा भण्डारीसँगै मिलन पाण्डे, सागर ढकाल, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, जेन(जी रक्षा बम, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र नागरिक उन्मुक्तिका रेशम चौधरी पनि सहभागी थिए ।

कांग्रेस नेता भण्डारीले पार्टीको पन्ध्रौँ महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा गरिसकेका छन् । उनी अहिले मूलधारको राजनीतिक दलका नेताहरूले देशलाई निकास नदिने मत राख्दै आएका छन् ।

भण्डारी पार्टीमा सभापति शेरबहादुर देउवाका कडा आलोचक पनि हुन् । उता मोरङ ३ बाट चुनाव जितेका निवर्तमान सांसद सुनील शर्माले पनि बालेनलाई भेटेका छन् ।

नोबेल मेडिकल कलेजका मालिकसमेत रहेका उनी कांग्रेसका भाइरल नेतामध्ये एक हुन् । उनी कहिले रवि लामिछानेलाई भेट्न जेल पुगेर चर्चा कमाउँछन् त कहिले विवादित अभिव्यक्ति दिएर भाइरल बनिरहन्छन् ।

पछिल्लो समय कांग्रेसमा भाइरल नेताका रुपमा परिचित उनले पनि बालेनलाई भेटेर बिहीबार कुराकानी गरेका हुन् । तर उनी र बालेनबीचको कुराकानीबारे केही खुलाइएको छैन ।

तर बालेनले आफूसँग भेट्न आउनेलाई नयाँ र युवाशक्ति मिलेर जानुपर्ने तर्क गरिरहेका छन्। बालेनले अन्य दलका नेता भेटेर त्यहाँको असन्तुष्टिलाई क्यास गर्ने खोजेको कुरा यी दुई नेतासँगको भेटबाट बुझिएको छ ।

सम्बन्धित समाचार