काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकताका विषयमा छलफल भई रहेको बताएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विचार मिल्नेसँग एकता गरेर जाने बारेमा प्रचण्डले धारणा राखेका हुन् ।
माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरूप आन्तरिक छलफल तीब्रता दिएको छ । ‘पार्टी एकता गर्न माधव र विप्लव कमरेडसँग छलफल अघि बढाएका छौँ । उहाँहरुसँग पार्टी एकताका बारेमा छलफल जारी राखेका छौ । पार्टी एकतालाई छिट्टै पूर्णता दिने छौंं’ प्रचण्डले बैठकमा भने ।
गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए। उनका अनुसार त्यस प्रकारका गतिविधिहरूलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको उनले बताए।
बैठकमा विभिन्न समयमा एकता प्रक्रियामा आएकाहरूको जिम्मेवारी र कार्यविभाजनबारे समेत छलफल भएको जनाइएको छ। यस्तै, बैठकले भदौको तेस्रो सातादेखि हुने मध्यपहाडी जनजागरण अभियानको स्वरूप बारेमा छलफल गरेको छ। विभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल उनले बताए।