काठमाडौं । कञ्चनपुरकै बेलडाँडी गाउँपालिका-२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरण अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्ट पक्राउ परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि मृतक युवतीका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई प्रहरीले पक्राउ गरेको थियो।
‘उनीहरूलाई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ डीएसपी बोहोराले भने, ‘पछिल्लोपटक पक्राउ परेकी पूजा पवनकी दिदी हुन्। उनलाई पीडित पक्षले मुख्य आरोपीको रूपमा किटानी जाहेरी दिएकी छन्।’
मृतक युवतीका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एउटा अडियोमा सम्झनाको हत्या गर्न पूजाले भाइ पवनलाई आदेश दिएको पाइएको प्रहरीले जनाएको छ। अडियोमा ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग गरिएको छ।
शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बोहोराले जानकारी दिए।