वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व ११.६६% वृद्धि

0 Shares

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल) आयात भएको छ। समग्रमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयातमा १ अर्ब ६ करोड रुपैयाँले कमी आएको छ। तर, यसबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् ७ अर्ब ६४ करोड रुपैयाँले वृद्धि भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाटै सबैभन्दा धेरै राजस्व सङ्कलन भएको छ। यस भन्सार कार्यालयको राजस्व मुख्यतया पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर रहने गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६५ अर्ब ५४ करोड रुपैयाँ सङ्कलन भएको थियो।

डिजेल, पेट्रोल र एलपिजी आयातको अवस्था

डिजेल : चालु आर्थिक वर्षको ११ महिनामा ८९ अर्ब ७६ करोड रुपैयाँ मूल्यको १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ। गत आर्थिक वर्षमा ९३ अर्ब ६३ करोड रुपैयाँ मूल्यको ९ लाख २१ हजार २७५ किलोलिटर डिजेल आयात भएको थियो। डिजेल आयातबाट यस वर्ष ४१ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जबकि गत वर्ष ३६ अर्ब ४ करोड रुपैयाँ सङ्कलन भएको थियो।

पेट्रोल : सोही अवधिमा ३५ अर्ब ३४ करोड रुपैयाँ मूल्यको ४ लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ। गत वर्ष ३६ अर्ब ४ करोड रुपैयाँ मूल्यको ३ लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोल आयात भएको थियो। पेट्रोल आयातबाट यस वर्ष २३ अर्ब ३८ करोड रुपैयाँ राजस्व उठेको छ, गत वर्ष २० अर्ब ७३ करोड रुपैयाँ उठेको थियो।

एलपिजी ग्यास : चालु आर्थिक वर्षको ११ महिनामा ३३ अर्ब ३५ करोड रुपैयाँ बराबरको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ। गत वर्ष २७ अर्ब ७१ करोड रुपैयाँको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपिजी ग्यास आयात भएको थियो। यसबाट ६ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, गत वर्ष ५ अर्ब १६ करोड रुपैयाँ सङ्कलन भएको थियो।

एटिएफ र मट्टितेल आयात

एटिएफ (एभिएसन टर्बाइन फ्युल) : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ३ करोड रुपैयाँ मूल्यको १ लाख ६७ हजार ३९८ किलोलिटर एटिएफ आयात भएको छ। गत वर्ष १७ अर्ब ११ करोड रुपैयाँ मूल्यको १ लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको थियो। यसबाट २ अर्ब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जबकि गत वर्ष २ अर्ब ४७ करोड रुपैयाँ सङ्कलन भएको थियो।

मट्टितेल : चालु आर्थिक वर्षको ११ महिनामा ५९ करोड रुपैयाँ मूल्यको ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ। गत वर्ष ६३ करोड रुपैयाँ मूल्यको ६ हजार १२० किलोलिटर मट्टितेल आयात भएको थियो। मट्टितेल आयातबाट दुवै वर्ष १६ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ।

सम्बन्धित समाचार