२०८१ को सालको अन्तिम दिन तपाईंको दिन कति शुभ?

0 Shares

आज मिति २०८१ चैत्र ३१ गते आइतबार । सन् २०२५ अप्रिल १३ तारिख । नेपाल सम्बत ११४५ चिल्लाथ्व पुन्हि तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ४१ मा भयो भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

कुनै लामो यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अघि बढाउने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ । कमी कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । आजको दिन साथीभाइसँग सन्तुलित व्यवहार गर्ने प्रयास गर्नु होला ।

बृष

केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला ।

मिथुन

रचनात्मक कार्यले फाइदा दिलाउने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् जसले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि मौकामा चाहेजस्तो लाभ उठाउन नसकिने योग छ ।

कर्कट

अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिएर तपाईंलाई प्रयोग गर्ने प्रयत्न हुनसक्छ, सचेत रहनुहोला । सरसापटमा धन खर्च हुनसक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यमा पनि सामान्य कमजोरी अनुभूति हुनसक्छ ।

सिंह

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । जटिल काम पनि सजिलै बन्नाले उत्साह जागृत होला । समयलाई पछ्याउने भरपुर प्रयत्न गर्नुहोला, अन्यथा पछि पछुतो अनुभूति हुन सक्छ । भौतिक साधनको प्रयोग गर्नुहुन्छ भने पूरै भर पर्न नसकिने समय छ, याद राख्नु होला ।

कन्या

परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति हुनसक्छ तर विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने तथा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला ।

तुला

मनमा कुनै प्रकारको त्रास थियो भनेपनि उत्साहमा रूपान्तरित हुने दिन छ । फुर्सदको अनुभूति हुनुका साथै रमाइलो यात्राको अवसर मिल्न सक्छ । लाभका लागि परिस्थितिसँग केही सम्झौता गर्नु हितकर होला । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ ।

बृश्चिक

कर्मबल र सामर्थ्य वृद्धि हुनेछ भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । मिठो भोजनको अवसर जुर्ला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने योग छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, सचेत रहनु होला ।

धनु

प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त भएपनि सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेले झुक्याउन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्नेमा सजग रहनु उचित होला ।

मकर

प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छन् । पठनपाठन कार्यमा पनि प्रगति हुनेछ । विशेष सभा(समारोहमा सहभागी बन्ने मौका जुर्ला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ने छ ।

कुम्भ

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्ने छ भने विभिन्न अवसर प्राप्त हुने छन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । दाम्पत्य सुख बढ्ने छ ।

मीन

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि प्रयत्न जारी राख्नु हितकर होला ।

सम्बन्धित समाचार