गणतन्त्रवादीले भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, कहाँ-कहाँबाट निस्कन्छ र्‍याली

0 Shares

काठमाडौं । आज शुक्रबार काठमाडौंका दुई स्थानमा छुट्टाछुट्टै प्रदर्शन हुने भएको छ ।

नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा र राजावादीहरूले शुक्रबार छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न लागेका हुन्। काठमाडौं प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ। बिहान एसइईको परीक्षा भएका कारण प्रशासनले दुवै समूहलाई ११ बजेपछि मात्रै कार्यक्रम सुरू गर्न भनेको छ।

समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली सुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने तय भएको छ । माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट र्‍याली निकाल्नेछ। माओवादी केन्द्रले निकाल्ने र्‍याली बबरमहलबाट सुरू हुँदै माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै भृकुटीमण्डपस्थित  सभा हुने स्थल पुग्नेछ।

माओवादी केन्द्रले नै सोह्रखुट्टेबाट पनि र्‍याली निकाल्ने छ। उक्त र्‍याली सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, पद्मोदयमोड हुँदै मञ्चमा पुग्नेछ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्नेछ।

उनीहरूको र्‍याली सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्च पुग्ने छ । नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र्‍याली निकाल्नेछ। त्यस्तै शान्तिबाटिका र मैतिदेवीबाट  नेकपा (एकीकृत समाजवादी)ले र्‍याली निकाल्नेछ। मैतिदेवीबाट पुतलीसडक, पद्मोदय मोड हुँदै मन्च पुग्नेछ।

चारवटै दलले फरक फरक स्थानबाट निकालेको र्‍याली मिसिएर मञ्चमा पुग्ने र दिउँसो १ बजे सभा सुरू हुने एक नेताले बताए। राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्दैछन्। सो प्रदर्शनलाई राप्रपा लगायत राजावादी दलहरूको समर्थन छ।  प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

दुई समूहले फरक फरक स्थानमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाडौंमा ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ। दुई फरक फरक विचारधाराका समूहले एकैदिन प्रदर्शन गर्ने भएकाले सुरक्षा चुनौती पनि सामान्य भन्दा बढेको छ। काठमाडौं आज ३ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । आवश्यकता अनुसार थप प्रहरी पनि परिचालन हुन्छ। पट्रोलिङ टोली, सादा पोसाकमा पनि प्रहरी खटिने जनाएको छ ।

भृकुटीमण्डपको कार्यक्रमका लागि टुँडिखेल घुम्ने सडक बिहानैदेखि बन्द गरिएको छ। विभिन्न ठाउँमा बिहानैदेखि सवारी साधन डाइभर्सन गरिएको छ। दिउँसो पनि ट्राफिक व्यवस्थापनका लागि ९०० जना भन्दा बढी ट्राफिक प्रहरी खटाएको छ।

सम्बन्धित समाचार