काठमाडौं । नेकपा एमाले सांसद गोकुल बाँस्कोटाले अमेरिकाबाट कुन कुन शीर्षकमा कति सहयोग आएको हो? भन्नेबारे सरकारले प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा पठाएको हो? भन्नेबारे प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए ।
‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पुर्याउने काम कहीबाट हुनु हुँदैन,’ उनले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको होरु सोबारे स्पष्ट हुनु जरुरी छ ।’
उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
सांसद बाँस्कोटाले सन् २००२ देखि २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म ६ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने माग राखे । त्यो प्रतिवेदनमा कति-कति रकम कहाँ खर्च भयोरु भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरेका थिए ।
‘कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ,’ उनले भने, ‘प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।’
यसअघि, प्रतिनिधि सभाअन्तर्गतका अर्थ समितिको बैठकमा बोल्दै सांसदले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गर्न माग गरेका थिए ।
बैठकमा सांसद गंगा कार्कीले युएसएडमार्फत् नेपालमा आएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धोखाधडी (फ्रड) भनेको बताउँदै उक्त रकम कहाँ र कसरी खर्च भएको थियोरु भन्दै सरकारले स्पष्ट पार्नुपर्ने बताएकी थिइन् ।