बागलुङ । जिल्लाको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइँका कारण खेती योग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
नगरपालिकाले गत वर्षदेखि बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियानसँगै सुक्खा फलफूलखेती गर्न स्थानीयलाई प्रेरित गर्न थालेको हो । बागलुङ नगरपालिका ९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेती विस्तार गरिएको वडाअध्यक्ष राजु थापाले जानकारी दिए ।
तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत १० लाख र स्थानीयको आठ लाख लगानीमा १४० रोपनी जग्गामा दुई हजार २५० ओखरका बिरुवा लगाइएकामा यस वर्ष नगरपालिकाको १२ लाख र स्थानीयको आठ लाख गरी २० लाखमा जुरेढुंगा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडाअध्यक्ष थापाले बताए ।
उनका अनुसार यस वर्ष २० लाखबाट बिरुवा खरिद, रोपण, सिँचाइ पोखरी निर्माण र मलखादको व्यवस्थापन गर्नेलगायत काम भइरहेका छन् । जुरेढुङ्गाका कृष्णबहादुर खड्का, रविन थापा र यामबहादुर थापालगायतको बाँझो जग्गामा व्यावसायिक ओखरखेती थालिएको छ ।
सिँचाइको अभाव रहेको र बाँझो जग्गामा सुक्खा फलफूल खेती राम्रो हुने भएकाले कुकाठ हटाएर बाँझो जग्गा सदुपयोग गर्न थालिएको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिए ।
पछिल्लो समय बसाइँसराइँले गाउँबस्ती रित्तिँदै गएपछि उजाडिएको बारी र जंगल फाँडेर ओखरखेती विस्तार भइरहेको जुरेढुङ्गा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताए ।
एक हजार ६०० मिटरदेखि तीन हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा लगाउन सकिने भएकाले जुम्लाबाट बिरुवा ल्याएर रोपिएको नगरपलिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिए ।
प्रतिबिरुवा तीन सय २० मा बिरुवा ल्याइएको थियो । जुरे ढुङ्गाका किसानले परम्परागत खेती गर्दै आएकामा नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न थालेपछि सामूहिक रूपमा ओखरखेती गर्न थालेका हुन् ।
यस वर्ष जुरे ढुंगा कृषक समूहलाई एक हजार ५०० बिरुवा हस्तान्तरण गरेर ओखरखेती विस्तार सुरु गरिएको कृषि प्राविधिक बरुवालले बताए ।