काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युका विषयलाई लिएर नेपालमाथि तुच्छ टिप्पणी गर्ने होस्टेल स्टाफले माफी मागेकी छन् ।
सामाजिक संजालमा एक भिडिओ सन्देश जारी गर्दै उनले माफी मागेकी हुन् । उनले उक्त भिडियोको क्याप्सन लेखेकी छिन्,’मेरा विद्यार्थी, नेपाली दाजुभाइ दिदीबहिनीहरूको भावनामा चोट पुर्याएकोमा क्षमा चाहन्छु।’ भिडियोमा उनी भन्छिन्, ‘गत १६ फेब्रुअरीको रात भएको घटनामा आवेशमा मैले बोलेका कुराहरूका लागि माफी माग्न यो भिडियो बनाइरहेकी छु । सो समयमा मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए र यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । यदि मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लागेको भए म गम्भीर रूपमा माफी माग्दछु।’
यसअघि, उनले शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई थर्काउँदै नेपालप्रति टिका टिपपणी गरेकी थिइन् । उनले नेपाली विद्यार्थीहरुलाई धम्काएर आफ्नो सामान लिएर तुरुन्त घर फर्किन चेतावनी दिएकी थिइन् ।
भाइरल भएको भिडियोमा उनीसँगै अर्की महिला पनि देखिन्छिन् । यी महिलाहरुले थर्काएको भिडियोमा उनीहरू भन्छन्, ‘यस विश्वविद्यालयका संस्थापकको अपमान नगर। त्यो व्यक्तिले ४० हजार विद्यार्थीहरूलाई निःशुल्क खाना खुवाउँदैछन्। जति तिम्रो देशको बजेट पनि छैन ।’ उनीहरूको यस्तो भनाइको हाल तिव्र आलोचना भइरहेको छ ।
यसैगरी,विश्वविद्यालयका रजिष्ट्रारले एक विज्ञप्ति जारी गर्दै १६ फेब्रुअरीमा भएको घटनाप्रति दुःख व्यक्त गरिएको जनाएको छ । यसका साथै, घटना छानबिन गर्न ५ जनालाई निलम्बन गरेर कारबाही अघि बढाइएको छ । उच्च तहका होस्टेलका २ जना अधिकारी र एक अन्तराष्ट्रिय सम्बन्ध हेर्ने सिनियर प्रशासनिक अधिकारीलाई निलम्बन गरिएको पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरूसँगै, दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको पनि छ ।