सडक दुर्घटनामा परी छ महिनाभित्र १२ सय जनाले गुमाए ज्यान

0 Shares

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ ।

गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मंसिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ ।

अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।

भयावह आत्महत्या

मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार ४५७ जनाले अकालमा ज्यान फालेका थिए ।

यस्तै गत मंसिरको तुलनामा र पुसमा आत्महत्याको संख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मंसिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार