काठमाडौं । ६ महिनाकी छोरीसहित महिला पोखरीमा हामफाल्दा बालिकाको मृत्यु भएको छ । महिला अचेत अवस्थामा भेटिएकी छन् । छोरीलाई साथमा बोकेर आमाले पोखरीमा हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । तर, उनको उद्धार गरिएको हो ।
प्रहरीका अनुसार बेलबारी नगरपालिका ९ तीनखुटिया निवासी गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले छोरीसँगै पोखरीमा हामफाल्दा उनकी ६ महिनाकी नाबालिका छोरी काव्याको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ आमा प्रीतिले घर नजिकै रहेको माछा पोखरीमा नाबालिका छोरीसँगै हामफालेकी थिइन् ।
नाबालिका छोरीसँगै घरदेखि एक किमी उत्तरमा रहेको पोखरीमा आमाले हामफालेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले शुक्रबार साँझ आमाछोरीको उद्धार गरेर उपचार गरिएको थियो ।
तर, उपचारको लागि विराटनगरस्थित विराट नर्सिङहोम ल्याउनसाथ चिकित्सकले शुक्रबार शिशुलाई मृत घोषणा गरेका थिए ।