काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भई आगलागीमा परी घाइते भएकामध्ये अर्का एक जनाको पनि मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ घर भई हाल काठमाडौं महानगर २८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको आज उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भई आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।
यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका ५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन)को उपचारका क्रममा निधन भएको थियो । योसँग मृतकको संख्या तीन पुगेको छ ।