ट्र्याक खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति

0 Shares

काठमाडौं । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ।

विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो।

बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ। विसं २०५४ मा बागलुङ बजारदेखि रु तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको थियो ।

तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुसी व्यक्त गरे।

सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ । यसले कटिनपूर्ण यात्रा सहज भएको खड्काको भनाइ छ ।

बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्षअघि नै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन् ।

सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका हुन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ।

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे । खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपर्थ्यो।

सम्बन्धित समाचार