तनहुँ । तनहुँको भिमाद नगरपालिका ६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् ।
विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् ।
कक्षा कोठामा हल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
उनले भने, “एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भएको थियो । सो सम्बन्धमा बुझ्दा अन्य दुई जना पनि पीडित भएको खुल्न आएको छ ।”
बालकको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका सुष्मा श्रेष्ठलाई आज नियन्त्रणमा लिइ बालबालिकाको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।