काठमाडौं। गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् । शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार नबेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका हुन् ।
सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताए । केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास छ । “नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ ।
अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौँ । जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ,” उनले भने, “यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको छ ।
तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौँ । चाँडै पास गर्छौं ।” नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्री लेखकको भनाइ छ । साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए।
विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए । कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरु महत्त्वपूर्ण काम गरेको बताए ।
“क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ, ” गृहमन्त्री लेखक भने । यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको बताए।