काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन् । सरकार केबलकार आन्दोलनकारी बिच सहमती भएपछि लामो समय देखि आन्दोलन स्थगित हुन पुगेको हो ।
सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने, आन्दोलनका क्रममा घाइते भएकाको सरकारले उपचार गर्नेलगायत बुँदा छन् ।
यस्तो छ सहमति
१.पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४.आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्ने ।