काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा पार्टी प्रवेशको लहर चलेको उल्लेख गर्दै सबैलाई एकताबद्ध र ध्रुवीकृत हुन आह्वान गरेका छन् । आमजनता पार्टीका केन्द्रीय सचिव एवं प्रवास प्रमुख बाबुराम कौशिकसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई स्वागत गर्नेमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिएर समाजवाद निर्माणको अभियानमा अघि बढाउने बताए । विचार मिल्ने विभिन्न धारासँग एकताका लागि पनि पहल भइरहेको जानकारी दिंदै उनले यस्ता प्रवेशले एकता र ध्रुवीकरणका लागि दबाब नै पुग्ने दाबी गरे ।नवप्रवेशी कौशिकले आफूहरुले पार्टीलाई माओवादी केन्द्रसँग एकताका लागि दबाब दिए पनि ढिलाई भएकाले आफूहरु प्रवेश गरेको जानकारी दिए । उनले माओवादी आन्दोलनबाट विभक्त भएका कुनै पनि समूहले सफलता प्राप्त गर्न नसकेको र ढिलोचाँडो सबै माओवादी केन्द्रमा समाहित हुने बताए ।
पार्टी प्रवेश गर्नेहरुमा आजपाका स्थायी समिति सदस्य एवं पर्सा इञ्चार्ज कदम रसुल, ब्यापार महासंघका पूर्वकेन्द्रीय सदस्य बीरबहादुर बिदुर, एकीकृत समाजवादीका जिल्ला सदस्य सत्रुघन गिरी, आजपाका प्रदेश सदस्यहरु अवताव अहमद, सजिव गुप्ता, दिलिप गुप्ता, विकास पटेल, जिल्ला सदस्य आकाश पटेल, जिल्ला सदस्य नारायण देवान, नगर सदस्यहरु सुनिल मोदी, नुर मियाँ, सोनालाल मण्डल, चुनु महतो लगायत रहेका छन् ।