संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

0 Shares

काठमाडौं। चालु आर्थिक वर्षमा जिल्लाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा ७३० मेट्रिक टन अलैँची निर्यात हुँदा एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संखुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।

जिल्लामा गत वर्ष ७८० मेट्रिकटन अलैँची निर्यात हुँदा १ अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो ।

विविध कारणले उत्पादन घटे पनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो । भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ । एक दशकदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो ।

अलैँचीको मूल्य प्रतिमन (४० किलो) १ लाख १५ हजारमा बिक्री भइरहेको छ । जिल्लामा १ हजार ७३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।

अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ । अलैँची संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ ।

पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैँचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र संखुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।

यो परियोजना संखुवासभाका १० स्थानीय तह र भोजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ । कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले ६ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचार