काठमाडौँ । होटल संघ नेपाल (हान)ले माघ २ गते बुधबार काठमाडौँमा नेपाल सत्कार दिवस–२०२५ मनाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ ।
होटल क्षेत्रले वर्षेभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् । सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटेल एयरबुक २०२५ को विमोचन हुने कार्यक्रम रहेको छ ।
संघका अध्यक्ष विनायक साहले मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने मौलिक खानाहरु प्रदर्शनमा राखिने बताए । सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ ।
सत्कार दिवसमा होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरू र चुनौतीबारे समीक्षा र आगामी दिनमा होटल उद्योग कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा सरोकारवालहरुसँग छलफल गरी कार्यनीति अगाडि ल्याउने शाहले बताए । उनले ५९ वर्षअघि माघ २ गते होटल संघ नेपाल विधिगत रुपमा दर्ता भएको सम्झनामा नेपाल सत्कार दिवस मनाउन लागेको उनले बताए ।
उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ । साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पऱ्याउने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ ।
देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारण सभा पनि सोही दिन आयोजना हुने संघले जानकारी दिएको छ । सत्कार दिवसले होटल क्षेत्रको समग्र विकासमा मद्दत पु¥याउने उद्देश्यले राखेको संघले जनाएको छ ।