डाक्टरको भेषमा लुटपाट गरेपछि…

0 Shares

काठमाडौं । जो कोही बिरामीले चिकित्सकलाई ठूलो भरोसा गरेका हुन्छन् । तर, चिकित्सक लुटेरामा परिणत भएमा कस्तो होला ? यस्तै घटना ललितपुरमा घटेको छ ।

एक बिरामी नक्कली चिकित्सकको भरमा पर्दा उपचारको साटो लुटिएका छन् । केही दिनअघिको उक्त घटनाका आरोपीलाई पक्राउ गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले आज सार्वजनिक गरेपछि घटना विवरण सार्वजनिक भएको हो ।

नक्कली डाक्टर बनी लुटपाटमा संलग्न रहेको अभियोगमा महोत्तरी जलेश्वर नगरपालिका २ हरिटोल ठेगाना भई ललितपुर महानगर १७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका ४ आरूखर्कबाट पक्राउ गरेको हो । उनको साथबाट ५९ हजार नगद र मोबाइल तीन थान बरामद गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।

उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।

उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद तीन लाख चोरी गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार