0
Shares
काठमाडौँ । सहकारी ठगीको आरोपमा तीन दिनसम्म सोधपुछ गरेपछि पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।
सुप्रिम सहकारीको बचत अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई रुपन्देही लगिएको थियो । गत मंगलबार रुपन्देही लगिएको उनलाई कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
यसअघि पोखराको सूर्य दर्शन सहकारीको बचत हिनामिना गरेको आरोपमा कास्कीमा उनीमाथि अनुसन्धान भइरहेको थियो । रुपन्देहीमा तीन दिनसम्म उनीसँग सोधपुछ भएपछि शुक्रबार पोखरा लगिएको हो ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पोखरा लगिएको प्रहरीले जनाएको छ । उनलाई यति एअरको विमानमार्फत पोखरा लगिएको हो ।
पछिल्लो समय जिल्ला अदालत कास्कीले उनलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।