भ्रष्टाचारको आरोपमा पालिका अध्यक्षदेखि अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं । हुम्लामा खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जिल्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा पाँच लाख १५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायतलाई विपक्षी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।

यस्तै, इञ्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, सब इञ्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

आयोजना मर्मतको काम पूरा नभए पनि काम भएको भनी प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको आयोगको दाबी छ ।

सम्बन्धित समाचार