काठमाडौँ । आन्दोलनमा होमिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहभागीमा पार्टीको बैठक सम्पन्न भएको छ । कास्कीको प्रहरी हिरासतमा रहेका उनीसँग बैठक बस्न नेताहरू हिरासतमा पुगेका थिए ।
पार्टी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाका अनुसार हिरासतभित्रै रास्वपा बैठकमा सभापतिसहित उपसभापतिहरू डीपी अर्याल, डा. स्वर्णिम वाग्ले र मनिष झा उपस्थित थिए । विशेष बैठकबारे उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि प्रहरीले सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरणमाथि अनुसन्धान गरिरहेको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । पछिल्लो समय थप १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारी भएसँगै रास्वपाका नेताहरू हिरासतभित्रै बैठक बसेका हुन् ।